नेपाल । नेपाल पत्रकार महासंघका अनुसार बितेको एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७३ घटना भएका छन् ।
महासंघको रिपोर्टले सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्म भएका ७३ वटा प्रेस स्वतन्त्रता हननका घटनामा दुई जना पत्रकारको हत्या र दुई जना गिरफ्तारीमा परेका हुन् ।
महासंघले शनिबार सार्वजनिक गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा २०८२ को वार्षिक प्रतिवेदनमा २२ जना पत्रकारलाई रिपोर्टिङमा अवरोध, २९ जनालाई दुव्र्यवहार र धम्की, २१७ जनालाई आक्रमण र ७४ जनालाई पेसागत असुरक्षा भएको हो ।
महासंघले शनिबार आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन (२०८१ वैशाख २१ देखि २०८२ वैशाख १७ गतेसम्म) सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारीकर्मी र विभिन्न विषयविज्ञले तीनकुने घटनाको अनुसन्धान जारी राखेकाले अध्ययन पूरा भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तीनकुने आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भयो । यो अत्यन्तै दुःखद घटना हो । त्यस घटनाको सत्यतथ्य बाहिर आउन सकेन । हामी आफैँ सोधपुछ र छानबिनमा लागेका छौँ, प्रतिवेदन सार्वजनिक गर्ने छौँ ।”
प्रतिक्रिया दिनुहोस्