नेपाल । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ । यसअघि कुलमान घिसिङले आफ्नो कार्यकालमा प्राधिकरण नाफामा रहेको तथ्याङ्क प्रस्तुत गर्ने गरेका थिए ।
तर, शुक्रबार काठमाडौँमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका हुन् ।
उनका अनुसार आर्थिक वर्ष २०८०–०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको शाक्यले बताए ।
उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । प्राधिकरणमा नेपाल सरकारको शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको शाक्यले बताए । उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गरे।
त्यस्तै प्राधिकरणले २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको जनाएको छ ।
२०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ । त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्