नेपाल । मे दिवस वा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकार, निजी क्षेत्र र बेरोजगार नागरिकलाई जोड्ने गरी ‘श्रम संसार’ पोर्टलको शुभारम्भ गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट श्रम संसार पोर्टलको शुभारम्भ गर्नुभएको हो ।
यस पोर्टलमार्फत रोजगारी खोजीमा रहेका र श्रमशक्ति खोजेकाका दुवैलाई आबद्धता गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले बताउनुभयो ।
साथै यस पोर्टलमार्फत रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास गर्न र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्ध गराउन सहज हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले श्रम संसार पोर्टलमार्फत श्रमिक, रोजगारदाता र रोजगार सेवाबिचको दुरी हटाई नागरिकको सिप, क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजाने बताउनुभयो ।
यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी आमनागरिकसँगको पहुँच अभिवृद्धि गर्ने गरी श्रमता विस्तार गर्न श्रम मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।
उहाँले सिपमूलक जनशक्ति रोजगारीमा जोडिए मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नारा चरितार्थ हुने धारणा राख्नुभयो । सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरिसकेको र यसका लागि रणनीतिक कार्ययोजना तयार गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्