नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
थापाले आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै सरकारको निर्णयलाई उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री थापाले लेखेका छन्, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’ थापाले भनेका छन्, ‘हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो… तर विडम्बना त्यो भएन । निर्णय गलत छ सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपनि पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन् ।
सोमबार साँझ प्रचण्डले आफ्नो फेसबुक पेजमा देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको पनि बताएका छन् ।
प्रचण्डले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमानलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेका कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौँ यो खबर असत्य साबित होस् । ’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्