२० फाल्गुन २०८२, बुधबार

महायज्ञको नाममा दलित परिवारको उठीबास बनाउनेलाई कारबाही गर्न माग

कोलोराडोखबर संवाददाता , March 24th, 2025

नेपाल । नेकपा (एस) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको भन्दै भत्सर्ना गर्नुभएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले सो घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभएको हो । मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको थियो ।

हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घर भएको स्थानबाट अपबित्र भएको भन्दै २ फिट माटोसमेत खनेर फ्याँकिएको पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नेपाल एक बहुधार्मिक मुलुक रहेको र यहाँ सबै धार्मिक र सामाजिक समूहबीच समानता, सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुनुपर्ने खनालको भनाइ छ ।

नेपालमा दलितहरूको संख्या ३० लाखभन्दा बढी रहेको रहेको तर्फ पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभएको छ। ‘म सिराहा जिल्लाको औरहीमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भत्सना गर्दछु,’ नेता खनालले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्