२० फाल्गुन २०८२, बुधबार

भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा

कोलोराडोखबर संवाददाता , March 21st, 2025

नेपाल । नेकपा (बहुमत) को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ ।

बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,“केहि दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौं ।”

“भ्रष्टाचार वीत्तीय शोषण मानव बेचबिखन विरोधी दस्ता घोषणा मात्रै हैन निकट भविष्यमा तपाईहरुले त्यसको परिणाम देख्न पाउनु हुनेछ ।” लिम्बुले थपे ।

जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौंमै सबैखाले बेथितिको जड भएकोले आफूहरुले दस्ताको निर्माण गरेको जानकारी गरे । सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार, वीत्तीय शोषण, कालाबजारी, मानव बेचबिखन, सामाजिक असमानता, प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरुलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहल कदमीको आवश्यकता रहेको छ । यो आवश्यकतालाई मध्यनजर गर्दै दस्ताको निर्माण गरेको बताए ।

सो कार्यक्रममा भक्तपुर जिल्ला इन्चर्ज प्रतिमा बजगाई, काठमाडौं जिल्ला संयोजक रामहरी पोखरेल, अखिल (क्रान्तिकारी) बागमती प्रदेश संयोक मिम ऐडीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्