१ जेष्ठ २०८२, बुधबार

बालकविता: आऊ खेलौँ होली

कोलोराडोखबर संवाददाता , March 15th, 2025

-रमेशचन्द्र घिमिरे-
राता नीला पहेँला रङ्ग छानी छानी
बाल्टिनमा थोरै मिसाएर पानी
आज भिजे भिजिन्छ नुहाइन्छ भोलि
रङ्ग घोली घोली आऊ खेलौँ होली ।

फागु दलौँ आपसमा हामी बाबु नानी
हुन्न बस्न टोलाई नरमाइलो मानी
आजै गरौँ रमाइलो के हुने ह‍ो भोलि
दिल खोली खोली आऊ खेलौँ होली ।

मिलिजुली खेल्ने गर्नुपर्छ बानी
बल्ल हुन्छ रमाइलो भन्छे बैनी सानी
आज छुट्टी मानेर स्कुल जाउँला भोलि
मीठो बोली बोली, आऊ खेलौँ होली ।

रातै भई रङ्गिएर साथीको घर जानी
साथीभाइ मिलेर मीठो मीठो खानी
आज जति खेले नि पढ्नु पर्छ भोलि
भई टोली टोली आऊ खेलौँ होली ।

-भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्