१९ बैशाख २०८२, शुक्रबार

एनआरएनएको बृहत एकता संवादः यस्ता छन् ७ बुँदे निश्कर्ष

कोलोराडोखबर संवाददाता , March 13th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले २०२५ मार्च ११ (२०८१ /११/२७) मा ‘बृहत एकता संवाद’ सफलतापूर्वक आयोजना गर्यो ।

उक्त संवाद कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष कुमार पन्त, संस्थापक महासचिव भिम उदास, संस्थापक पुर्व संरक्षक रामप्रताप थापा, पूर्व उपाध्यक्षहरु इन्द्रा वन, सागर नेपाल, टिबी कार्की, वर्तमान तथा पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु एवं सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु लगायत ७८६ जना उपस्थित हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा बृहत् एकतासहित संघको महाधिवेशनका सम्बन्धमा घनिभूत छलफल भयो । उक्त कार्यक्रममा महाधिवेशनको वैधानिकता र सम्बन्धित विवादको बारेमा सर्वोच्च अदालतका निर्णयहरूको पालना गर्दै संघको आगामी अक्टोबरमा घोषणा गरिएको महाधिवेशनलाई सफल बनाउने प्रति संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित अधिकांश एकमत भएका छन् । संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २०२५ मै आयोजना गर्ने निर्णयसहित, यस कार्यक्रमले गैरआवासीय नेपाली समुदाय बीचको एकतालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मिति २०८१/११/२३ मा भएको छलफलमा संघको वैधानिकता सम्बन्धी जानकारी प्रदान गर्दै, वर्तमान कार्य समिति वैधानिक रहेको उल्लेख गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै संघ भित्र बृहत एकता कायम गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

प्राप्त सुझाव एवं निष्कर्षहरु:
१. संघको बृहत एकता कायम गर्नका लागि हदैसम्म लचकता अपनाउन वर्तमान कार्य समिति तयार रहेको संघका अध्यक्ष डा. बद्री के.सी. जानकारी दिनु भयो ।

२. संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धित विवादमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०/१२/२१ मा भएको फैसला र संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिको गतिविधि र महाधिवेशनको वैधानिकताका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१/०४/२२ मा भएको फैसलाको अन्तर्य र अन्तरवस्तुलाई एकरुपता कायम गरि संघको बृहत एकता कायम गर्नका जोडदार माग गर्ने ।

३. सन् २०२३–२०२५ कार्यकालका लागि निर्वाचित कार्य समितिको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारीको बैठकबाट सन् २०२५ जनवरी १९ मा सम्पन्न बैठकबाट संघको आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गैरआवासिय नेपाली दिवस अक्टोवर ११ देखि सुरु हुने गरि गर्नका आवह्रान गरिएको मिति २०८२/०६/२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) को कार्यक्रममा सबै पक्षलाई समेटेर एकताको महाधिवेशनको वातावरण बनाउन वर्तमान कार्य समितिलाई अनुरोध गर्ने ।

४. माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मिति २०८१/११/२३ मा भएको छलफल कार्यक्रम माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाबाट वर्तमान कार्य समितिको वैधानिकतामा थप छलफल हुन नसक्ने र वर्तमान कार्य समिति बैधानिक रहेको सम्बन्धमा दिनु भएको जानकारीलाई कार्यक्रममा उपस्थित महानुभावहरुले परराष्ट्र मन्त्रीज्यूलाई धन्यवाद दिनका लागि वर्तमान कार्यसमितिलाई अनुरोध गर्यो ।

५. गैरआवासीय नेपाली संघका ५० भन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरुले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई संघको महाधिवेशन अक्टोबर महिनामा गर्नका लागि प्रेषित भएको मागपत्रलाई स्वागत गर्दै संघ भित्र बृहत एकताको लागि आह्वान गर्ने निर्णय गरियो ।

६. उच्चस्तरीय समितिले घोषणा गरेको मे २०२५ को महाअधिवेशन तथा सदस्यता वितरण संघको विधान विपरित हुने तथा गैरआवासीय नेपाली संघ भर्टिकल डिभिजन (Vertical Division )नसक्ने सम्भावनाबाट जोगाउन उच्चस्तरिय समिति तथा परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने ।

७. उच्च स्तरिय समितिले गर्ने भनेको मे २०२५ को महाअधिवेशन वैधानिक हिसावले अक्टोबर २०२५ मा सार्नको लागि सर्वोच्च अदालतको नियमावली २०७४ को नियम १३४ अनुसार सम्भव देखिएको छ । उक्त नियम अनुसार अक्टोबर २०२५ मा नै महाधिवेशन गर्नको लागि अधिकांश राष्ट्रिय समन्वय परिषद्, संस्थापक अध्यक्ष एवं सम्पूर्ण अभियन्ताहरुले गरेको आग्रह अनुसार परराष्ट्र मन्त्रालयमार्फत कार्यान्वयन गर्न सम्मानिय प्रधानमन्त्रीज्यू समक्ष सविनय अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्