२० फाल्गुन २०८२, बुधबार

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस

कोलोराडोखबर संवाददाता , January 23rd, 2025

नेपाल । सहकारी ठगी प्रकरणमा मुद्दा परेपछि बुधबार रुपन्देही जिल्ला अदालतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस बिहीबारमात्र हुने भएको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको हो । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कार्तिक २७ गते भैरहवा लगेर सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्