-लालगोपाल सुवेदी-
अजर छैन प्रकृतिको पनि जड्यौरी
धुस्रोफुस्रो वनपाखाको पछ्यौरी
जानै त लागेछ यो अहो ! नोभेम्बर मास
झरिसकेछन् सबै सबै रङ्गीविरङ्गी पात
उजाड उजाड यी उद्यान, यी वन बुट्यान वगैंचा
कसैले कसैलाई दिन सक्दोरहेनछ
अन्तिम मोक्षान्तसम्मै साथ
महसूस हुन्छ मलाई पनि उमेरगत यो संघात
चल्छ चिसो सिरेटो रात विरात
मुटु खाने चीसो बतास
कस्तो अनौठो यो प्रकृतिको लय
मैले मन पराएका हर्दम हाँसिरहेका फूलहरू
कहाँ गए ?मलाई छोडी कहाँ गए ?
फूलका थुङ्गा थुङ्गामा नाचिरहेका
पुतलीहरू कहाँ गए ?
मेरा निम्ति मह बनाइदिने
र रस रङ्गमा रमाइरहने, भुन्भुनाइरहने
ती माहुरीहरू कहाँ गए ?
दिनहरू छोटा छोटा हुँदै गए
रातहरू लामा लामा हुँदै गए
फुलेका छन् कपाल र दाह्री मेरा
दिन प्रतिदिन बन्दै छन् ती हिमालय
साँझको प्रतीक्षामा ढल्किरहेको दिनजस्तै
जीवन रहेछ जसको पनि यस्तै यस्तै
उदयाचलदेखि अस्तायचलसम्म
कहिले बादल, कहिले हुस्सु
भोग्नैपर्ने घामले पनि
यस्तै यस्तै त हो जसको पनि
जीवनकों लय
कहिले कमजोर , कहिले बलवान्
हुँदोरहेछ जसको पनि समय
चाहेको बेला देखिँदैनन् ताराहरू
आँधीझरीमा काँपेजस्तै देख्छु पूर्णेन्दु पनि
हेर्नहोस् त कति बलवान् छ समय !
भूतै भइगयो भूतकाल
के थाहा भविष्यको भवितव्य
कतै जाला भुइँचालो, कतै होला प्रलय
किन भइरहन्छ बेवास्ता वर्तमानको ?
अत्यन्त बलवान् छ समय
र मानव जीवन पनि उत्तिकै मूल्यवान्
खासमा आनन्दै आनन्द छ भन्छन् ऋषिहरू
आइरहने , गइरहने श्वासमा
हामी त कर्कलाको पानी
पिङ खेलिरहेझैं मन्द मन्द वतासमा
पछ्याइरहौं पछ्याइरहौं जीवनको लय
जय !समय जय !!
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्