१६ कार्तिक २०८२, आईतवार

विधानअनुसार नेपाली काँग्रेसको विशेष महाधिवेशन हुन्छः खड्का

कोलोराडोखबर संवाददाता , November 2nd, 2025

नेपाल । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावका विषयमा प्रतिनिधिहरुसँग शनिबार पहिलो पटक छलफल गरेका छन् ।

गत असोज २९ गते पार्टी कार्यालयमा दर्ता गरेको विशेष महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न पहिलो पटक कार्यवाहक सभापति खड्काले हस्ताक्षरकर्ता महाधिवेशन प्रस्ताव गर्ने नेताहरुलाई बोलाएका हुन् ।

महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यका अनुसार नेता गुरुराज घिमिरेको नेतृत्वमा गएको टोलीसँग खड्काले छलफल गरेका हुन् ।

उनले भने, ‘गुरुराज घिमिरेको नेतृत्वमा म, देवराज चालिसेसहित सात जनाको टोली गएर कार्यवाहक सभापतिज्यूलाई भेट्यौँ । उहाँले विधानको व्यवस्थाअनुसार अगाडि बढ्छु भनेर विश्वस्त गराउनु भएको छ ।’

आचार्यले छलफल सकारात्मक भएको भन्दै आफूहरु समयमै विशेष महाधिवेशन गरेर पार्टी अगाडि बढ्नेमा विश्वस्त रहेको बताए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आफू दबाबमा रहेकाले प्रतिनिधि सभाको निर्वाचनपछिमात्र महाधिवेशन गर्न सकिने बताएर जारी केन्द्रीय कार्यसमिति बैठकको माहोल बिगारेका कार्यवाहक सभापति खड्काले शनिबार विशेष महाधिवेशन माग्ने प्रतिनिधिहरुसँग छलफल गरेर माहोल सुधार्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्