नेपाल । यसअघि पोखरामा हुने तय भएको नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ।
शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।
शनिबार बसेको बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताए ।
प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर हुने बताए । प्रतिनिधिहरूको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने बताए। प्रतिनिधिमा न्यूनतम एक तिहाइ महिला सहभागिता गराउने दाबी गरे ।
देशभरका ६ हजार ७४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौँमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको बताए ।
विधान महाधिवेशनबाट आएका सुझावलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रूप दिने निर्णय भएको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्