नेपाल । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसमेतलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । महान्यायाधिवक्ता कार्यालयले शुक्रबार पुनरावेदन निवेदन पेस गरेको छ ।
तथ्यको मूल्याङ्कन नगरी आलमसमेतलाई सफाइ दिएको भन्दै न्याय परिषद्ले उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीशमाथि छानबिनसमेत गरिरहेको छ । छानबिन प्रक्रिया चलिरहेका बेला महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन प्रक्रिया अघि बढाएको हो । जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले मुद्दा फैसला गरेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले पुनरावेदनपत्र पेस भएको तर दर्ता बाँकी रहेको बताउनुभयो । कुइँकेलले भन्नुभयो, “पुनरावेदनपत्र आएको छ तर रुजुको क्रममा नै छ ।”
जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै आरोपितलाई सफाइ दिएपछि पीडित पक्षले असन्तुष्टि जनाएका थिए । घटनाका पीडितले न्याय परिषद्मा उजुरी दिएपछि न्यायाधीशमाथि छानबिन प्रक्रिया अघि बढेको थियो भने साक्षीहरूले पनि फैसलामा सार्वजनिक रूपमा आपत्ति र आलोचना गरेका थिए । जिल्ला अदालतले आलमसमेतलाई जन्मकैदको सजाय सुनाएको थियो । उच्चले भने आलमसहित मोहम्मद महताब आलम, शेष सराज, बद्री सहनी र मुक्ति साहलाई कसुरबाट सफाइ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्